कायाकैरन र कायापलट

तपाईंले यस दस्तावेज़लाई यहाँ डाउनलोड गर्न सक्न हुन्छ ।

कायाकैरन र कायापलट

नेपाल सरकार, प्रशासन र जनतालाई केही सुझावहरू

 

महामारी छिट्टै नियन्त्रणमा आउने छ, अर्थात् सर्वोत्तमको आशा गर्नु ठिक छ, तर सम्भावनाको मूल्याङ्कन गर्नु पनि अपरिहार्य छ ।

पूर्वाधारहरू, मेडिकल सामग्रीको आपूर्ति, वेन्टिलेटर, बिरामीहरूलाई उपचार गर्ने ठाउँ, मास्कहरू, सुरक्षा कवच, औषधि आदिको प्रबन्ध गर्नु सरकार र सम्बन्धित निकायहरूको उत्तरदायित्व हो । आशा गरौँ यी संस्थाहरूले आ-आफ्ना काम कुशलताका साथ, कुनै भ्रष्टाचार नगरी पूरा गर्ने छन् ।

महामारी संसारभरि फैलिएको छ र बारम्बार फर्केर आउन सक्छ । किनभने हामी कुनै पृथक् अनकन्टारमा नभई सिङ्गै संसारको एउटा सानो भागमा बसोबास गर्दै छौँ ।

यो यथार्थको एक पक्ष हो, यसको अर्को पक्ष निम्नानुसार छ ।

जसरी फेवा तालमा तपाईं एक सानो नौकामा भ्रमण गर्दा सबै नौकाहरूलाई डुबाउने खालको विशाल छाल उठदाखेरि कुनै मुल्लाह, कुनै पादरी, कुनै पुरोहित, कुनै साधु, कुनै लामा आदिले तपाईंलाई कुनै सहयोग गर्न सक्दैन तर, कुनै कुशल, तालिम प्राप्त, अनुभवी, ज्ञानी नाविकले मात्र तपाईंको ज्यान बचाउन सक्छ अनि तपाईंलाई सुरक्षित किनारामा लिएर आउन सक्छ; जसरी कुनै स्वास्थ्य सम्बन्धी समस्या हुने खण्डमा कुशल र विशेषज्ञ मेडिकल स्टाफले मात्र तपाईंको उपचार गर्न सक्छ, त्यसरी नै जब कुनै समाजका सामु जीवनमरणको परिस्थिति हुन्छ, त्यसमा Existentialism, Pragmatism, Critical Realism, Religious Philosophy, Deism, Eclecticism, Fatalism, Scholasticism, Hylozoism, Agnosticism, Theosophy, Hedonism, Positivism, Formalism, Anarchism, प्राचीन दर्शन आदि समेत, Psychoanalysis, Behaviorism लगायत, Symbolic Interaction, Functionalism, Structural Functionalism, Feminism, Critical Theory, Social Exchange Theory, Game Theory, Sociobiology आदिले सामाजिक रूपमा कुनै कल्याण गर्न सक्दैन, न त त्यस अत्यन्त जटिल परिस्थितिबाट उम्कने कुनै उपाय नै प्रस्तुत गर्न सक्छ, त्यस विशाल विनाशकारी परिवेशमा केवल एक विशेष ज्ञानले तपाईंको लागि वैज्ञानिक मार्ग प्रशस्त गर्न सक्छ, अनि तपाईंको जहाज़लाई परिचालन गर्न सक्छ; त्यस दर्शनको पहिचान नै उपरोक्त सबैका विपरीत, निम्नलिखित वाक्य मार्फत हुन्छ ।

“The philosophers have only interpreted the world in various ways. The point, however, is to change it.” अर्थात्

“दार्शनिकहरूले केवल संसारको व्याख्या कैयौँ तरिकाहरूमा गर्नु भएको छ । तर, तात्पर्य यसलाई परिवर्तन गर्नसँग हो ।”

यस दर्शनलाई भौतिक द्वन्द्ववाद भनिन्छ ।        

भौतिक द्वन्द्ववाद अर्थात् मार्कसवादले के स्पष्ट पारेको छ भने, विभिन्न परिस्थितिहरूमा जीवनका विभिन्न तरिका र शैलीहरू हुन्छन्, अर्थात् संस्कृतिक प्राप्ति, सामाजिक नियम, अर्थतन्त्र, विज्ञान-प्रविधि, उत्पादक शक्ति, उत्पादक यन्त्र-तन्त्र, रूप रचना आदि भिन्नाभिन्नै हुन्छन् ।

त्यसै कारण अलग अलग परिस्थितिहरूमा अलग अलग तरिकाले काम गर्नु अनिवार्य हुन्छ ।

संस्कृतिक प्राप्ति वा संस्कृति बारे केही कुरा गर्नु आवश्यक छ ।

भौतिक द्वन्द्ववाद अनुसार संस्कृति भनेको समाजले, आफ्नो इतिहासको क्रममा निर्माण गरेका वा निर्माण गरी रहेका सबै भौतिक र बौद्धिक मूल्यहरू हुन् जसका पहिचान, विशेषता र गुण-अवगुण समाजको विकासक्रममा समाजले प्राप्त गरेको एतिहासिक स्तर अथवा एतिहासिक चरणले दर्साउँछ । त्यसै कारण हामी प्राचीन साम्यवाद, दासत्वको युग, सामन्तवाद, पूँजीवाद, सामराज्यवाद, विकसित देश, अविकसित देश, शहर, गाउँ, सुगम क्षेत्र, दुर्गम क्षेत्र, आदि संज्ञाहरू द्वारा विभिन्न समाज वा समुदायहरूका वर्गीकरण गर्छौँ ।

भौतिक संस्कृतिमा उत्पादन, उत्पादन प्रणाली, उत्पादन अनुभव, मेशिनरी, र अन्य भौतिक सम्पत्ति आदि समावेश हुन्छन् भने, बौद्धिक संस्कृतिमा विज्ञान, कला, साहित्य, दर्शनशास्त्र, आचार-व्यवहार अथवा नीतिशास्त्र, शिक्षा आदि पर्छन् ।

तात्पर्य के हो भने, आलग अलग परिस्थितिहरूमा छुटाछुट्टै तरिकामा काम गर्नु पर्छ ।

नेपालका केही आफ्नै विशेषताहरू छन् । हामी गर्वसाथ भन्न सक्छौँ, अन्य देशहरूका तुलनामा, नेपालको सर्वसाधारण जनतामा, समग्रमा, वीरता पनि छ, सक्षमता पनि छ, बुद्धिमता पनि छ, अनुशासन पनि छ, सतर्कता पनि छ । भारत र अन्य देशहरूमा सांस्कृतिक रूपमा सामाजिक परिस्थिति अत्यधिक फरक छ । नेपालको तराइ क्षेत्रमा भारतसँग कैयौँ कुरा मिले तापनि, भिन्नता विद्यमान छ । यसको प्रमाण तपाईंले आफै बुझ्नु हुन्छ यदि तपाईं भारत-नेपालको सीमानामा गएर एक देशबाट अर्को देशमा हिँडेर जानु हुन्छ अनि नेपाली प्रहरी तथा कर-अधिकारी आदिका र भारतका प्रहरी र कर-अधिकारी आदिका व्यवहारसँग तुलना गर्नु हुन्छ ।

भारतको वर्तमान सरकारले दिएका योग्य अयोग्य, लाभकारी अथवा घातक आज्ञा र कार्यहरूका पालन वा अनुकरण नेपालले गर्नु पर्दैन । त्यो घातक हुने छ, जसरी कुनै रोगको निदान नगरीकन कुनै रोगीलाई गायको पिशाब पिलाएर गोबरमा लपेटनु घातक हुनु सक्छ ।

यसका अतिरिक्त भारतमा श्रमिक-घाती शासन छ, जसलाई करोडौँ श्रमिकहरूसँग भारतीय प्रशासनले गरेको पशुत्वको व्यवहारले छर्लङ्ग पार्छ । भारतमा सम्प्रदायिक नीति र सङ्गठनहरूले सब्जी, अर्थात् आलू, मट्टर, टमाटर आदिलाई पनि हिन्दू र मुस्लमानमा वर्गीकरण गरेको छ । नेपालले पनि त्यही नीतिको अनुकरण गऱ्यो भने, नेपाल देशको अस्तित्व नै समाप्त हुने खतरामा छ ।

काठमाण्डौ दिल्ली अथवा मुम्बई होइन, सोलुखुम्बु काठमाण्डौ होइन, ओखलढुङ्गा महोत्तरी होइन, रिङ्ग रोड र त्यसका समीप क्षेत्रहरूभित्रको काठमाण्डौ रिङ्ग रोडबाट टाढाका ठाउँहरूको काठमाण्डौ होइन…।

नेपालमा देशका अलग अलग ठाउँहरूमा भिन्दाभिन्दै तरिकामा कार्य गर्नु उपयुक्त छ ।

SARS-CoV-2 अथवा COVID-19 अथवा Coronavirus जुन नामले चिन्हे पनि, यो एक महामारी हो जुन वायुयानहरू मार्फत उडेर संसारका 210 देश वा क्षेत्रहरूमा सञ्चार भएको हुनाले कैयौँ वर्षहरूसम्म संसारमा विद्यमान रहन सक्छ । यसको उपचार वा खोप निकाले पछि पनि अवस्था वर्षौँ सम्म गम्भीर नै रहन सक्छ । किनभने, खोप अथवा उपचारको परीक्षण गर्नमा समय लाग्ने छ, त्यस पछि अत्यधिक व्यापक परिमाणमा त्यस औषधि अथवा खोपको उत्पादन गर्नमा, त्यसको वितरण, जुन सम्भवतः कोल्ड-स्टोरेज (अर्थात् हिँउ जम्ने तापक्रममा) मार्फत एक ठाउँबाट अर्को ठाउँमा लैजाने र त्यहाँ राख्ने पूर्वाधारहरू निर्माण गर्नमा धेरै समय लाग्ने छ । त्यस्तो भए पछि पनि, त्यो खोप वा टीका हरेक व्यक्तिलाई पिलाउन वा इन्जकशन गर्नमा समय लाग्ने छ । नेपालमा कुनै टीका हरेक व्यक्तिलाई लगाउनमा कम्तीमा पनि दुई वर्ष लाग्ने छन् । सारांशमा, यो महामारी पूर्ण रूपमा नियन्त्रण गर्नमा कम्तीमा 5 वर्ष लाग्न सक्छ । 10 वर्ष वा त्योभन्दा अधिक समय पनि लाग्न सक्छ । यदि त्यही अवधिमा कुनै नयाँ महामारी निस्कियो भने, अवस्था झन् गम्भीर हुने छ । कुनै नयाँ महामारी नेपालबाट पनि सुरु हुनु सक्छ, किनभने, त्यसको सृजनाका कैयौँ घटकहरू छन् । उदाहर्णार्थ, नेपालका कैयौँ ठाउहरूमा एक दुई दर्जन ज्यूँदा कुखराहरूलाई, आधा आधा दर्जन गरेर, खुट्टा बाँध्नेर मोटरबाइकहरूमा, टौका भुइँ तिर झुन्ड्याउने तरिकामा कैयौँ व्यक्तिहरूले एक ठाउबाट अर्को ठाउँ लैजाने गरी रहेका छन् । यस क्रूर पद्धतिले पनि कुनै वाइरसको सृजना गर्न सक्छ । यसै गरी कैयौँ क्षेत्रहरूमा कैयौँ कारणले कैयौँ नयाँ रोगहरू उत्पन्न हुनु सक्छन् । पूरै संसारमा भई रहेका रोगी गतिविधिहरूका कुरै छोडौँ ।

समग्रमा यो युद्ध न्यूनतम पनि आगामी 5 वर्षहरूसम्म जारी रहने छ ।

यसलाई कुनै पनि स्तरमा अबोध बालकको खेल ठान्नु वा बालकको अबोध नीति अपनाएर सम्बोधन गर्नु भयङ्कर परिणामहरू निम्ताउनु हो ।

विश्व स्वास्थ्य सङगठन र अन्य देशहरूले के गरी रहेका छन्, के नीति अपनाएका छन्, कति योग्य वा अयोग्य तरिकामा जनतालाई भएका कठिनाइहरूलाई समाधान गर्ने प्रयास गरी रहेका छन्, त्यसको अध्ययन गर्नु, विश्लेषण गर्नु, मूल्याङ्कन गर्नु, र त्यसबाट उपयुक्त ज्ञान प्राप्त गर्नु तथा रणनीतिहरू बनाउनु अनिवार्य छ, तर त्यसको हूबहू अनुकरण गर्नु संसारको अवैज्ञानिक दृष्टीकोणले टिलपिल भरिएका समाजहरूका अयोग्यता र पाखण्डहरूलाई अनुकरण गर्नु हो । विश्व स्वास्थ्य सङ्गठनका नीति, प्रज्ञा आदि जुमलाका निवासीहरूलाई मध्ये नज़र राखेर बनाएका होइनन्, ती न्यूयार्कका 50 तल्ले भवनहरूमा कार्यरत मान्छेहरूलाई ध्यानमा राखेर निर्माण गरिएका हुन् । तपाईंको देशमा कुन चैँ पचास तल्ले भवन छ?

नेपालको विशेष परिस्थिति के हो भने, कैयौँ व्यक्ति र कैयौँ परिवारहरू पर्यटनमा निर्भर छन् । पर्यटन ठप्प भएको छ र त्यो धेरै परिमाणमा बन्द नै रहने छ । त्यसै गरी यायायातमा पनि यही अवस्था विद्यमान रहने छ । यी र अन्य सबै बेरोजगार व्यक्तिहरूलाई रोजगार चाहियो ।

नेपालको निजी पूँजीवादीको अर्थतन्त्र नै विदेशमा काम गरी रहेका श्रमिकहरूका रेमिटन्सहरूमा टिकेको थियो । नेपालका लाखौँ व्यक्ति विदेशहरूमा काम गरी रहेका थिए । अदिकांशका विदेशी रोजगारहरू समाप्त भएका छन् अनि पुनः ती रोजगार परिचालन हुनु लगभग असम्भव छ । श्रमिकहरू खाडी र अन्य क्षेत्रहरूबाट घर फर्कने छन् । उनीहरूलाई नेपाल वापस ल्याउने व्यवस्था गर्नु पऱ्यो । उनीहरूलाई पूर्ण पृथकीकरण अथवा सँगरोध अर्थात् क्वारन्टीनमा राख्ने व्यवस्था तयार गर्नु पऱ्यो, माओवादी शिविरहरूमा 17000 व्यक्ति राख्ने क्षमता थियो, ती शिविरहरूलाई क्वारन्टीनमा राख्ने व्यवस्थाको रूपमा हाल उपयोग गरिएको छ, यस व्यवस्थालाई झन् सुदृढ गर्ने र झन् व्यापक बनाउनका लागि काम तुरन्त सुरु गर्नु पर्छ । किनभने, भारत लगायत विदेशहरूमा नेपाली श्रमिकहरूको सङ्ख्या लगभग 90 लाख होला । ती मध्ये लगभग 30 लाख श्रमिक आगामी एक वर्षमा नेपाल फर्कन सक्छन् । विमान यातायात पुनः सुरु हुनु साथै तीन देखि चार लाख व्यक्ति एक महिनामा नै घर फर्कन सक्छन् । उहाँहरूलाई 15, 15 दिन क्वारन्टीनमा राख्ने व्यवस्था तयार राख्नु पर्छ । हवाइ यातायातसँग उहाँहरूलाई नेपाल लिएर आउने क्षमता नहोला, वैकल्पिक तरिकाहरू के हुनु सक्छन्, त्यसमा ध्यान दिनु आवश्यक छ ।

विदेशबाट फर्केका श्रमिकहरूका लागि पनि रोजगारहरू सृजना गर्नु अत्यन्त आवश्यक छ ।

संसार र नेपालमा वर्षौँ वर्ष देखि SARS-CoV-2 भन्दा पनि भयङ्कर महामारी रूढीवाद, जातिवाद, तथा प्रशासनिक वा अन्य प्रकारका भ्रष्टाचारहरू हुन्, जसले यस घातक परिस्थितिमा पनि भ्रष्टाचारका नयाँ नयाँ मार्ग निकालेर देश र संसारका धेरै सामान्यजनका जीवनलाई सर्वनाश गर्न सक्छ । नेपालले यस महामारीको रोकथाममा पहल गर्नु पर्छ । SARS-CoV-2 को शङ्कामा 14 दिनको लागि पूर्ण पृथकीकरण अथवा सँगरोध अर्थात् क्वारन्टीनमा राख्नु पर्छ भने, SARS-CoV-2 भन्दा पाँच गुणा घातक हुनाले भ्रष्टाचारीहरूलाई 70 दिनसम्म क्वारन्टीनमा राख्नु अपरिहार्य छ । नत्र यस घातक परिस्थितिमा जनताका साथ साथ देशको पनि सर्वनाश हुने छ ।

आन्तरिक लकडाउन कैयौँ ठाउँहरूमा, नचाहिए तापनि, अनावश्यक जनयातना सरह हुनाले, यसलाई ती ठाउँहरूमा समाप्त गर्नु पऱ्यो । उदाहरणार्थ, जुमलामा लकडाउन गर्नु पर्ने कुनै औचित्य छ र? यसको सट्टा Coronavirus बाट सङ्क्रमित व्यक्तिहरू र सम्भावित सङ्क्रमित व्यक्तिहरूका पहिचान गर्ने वैज्ञानिक तरिका अपनाउनु पऱ्यो । नेपालको स्वस्थ्य जनतालाई धेरै समयसम्म कोठाहरूका चार भित्ताभित्र सीमित पारेर रोगी बनाउनु कुनै बुद्धिमता नहोला । जनतालाई पूर्ण सचेत गर्ने कार्यक्रमहरू सञ्चान गर्नु पर्छ । सङ्क्रमण हुने खण्डमा, सङ्क्रमण कसकसको लागि घातक र कसकसको लागि घातक नहुने दुईवटा श्रेणीहरूमा जनतालाई वर्गीकरण गर्नु पऱ्यो, अनि जसको लागि सङ्क्रमण घातक नहुने अपेक्षा गर्न सकिन्छ, ती व्यक्तिहरूलाई तालिम दिएर अधिक हिनडुल र दोस्रो श्रेणीलाई तालिम दिएर कम हिनडुल गर्ने व्यवस्था गर्नु पर्छ । तालिमको व्यवस्था टेलिविजन र रेडियो मार्फत स्वास्थ्य विशेषज्ञहरूद्वारा गर्नु पर्छ । एटीएम र लिफ्टहरू बन्द गर्नु पऱ्यो । बैंकहरूमा मान्छेहरूका भीडलाई न्यूनतम गर्नका लागि वित्तीय सहकारीहरूलाई बैंक क्ल्यरिङ्ग हाउसहरूमा सामेल गर्नु पऱ्यो । विदेशी व्यापारका स्वदेशी कम्पनीहरूको राष्ट्रीयकरण गर्नु पऱ्यो, विशेष गरी औषधि, इन्धन, आवश्यक सामान, आदिको विदेशी व्यापारलाई । विदेशी कम्पनीहरूका राष्ट्रीयकरण गर्न सकिँदैन, किनभने, त्यसले विश्व पूँजीवादीहरूका आक्रमण निम्त्याउने छ । जसबाट नेपालले आफ्नो सुरक्षा गर्न सक्दैन ।

तात्पर्य के हो भने, जुन अर्थ-व्यवस्था, कानूनी पद्धति, प्रशासन, निजीहितको पूजा पाठ, ईश्वरको अमानवीयकरण, निजी सम्पत्तिको लागि ज्युने मर्ने संस्कृति आदिको कात्रो धारण गरेर नेपालका अधिकांश जनता रमाई रहेका थिए, त्यस कात्रोलाई बुद्धको करुणा र मार्कसको महाज्ञानले हालसम्म कुनै क्षति नपुऱ्याए पनि, करोनावाइरसले नछुने गरी सङ्क्रमित पारेको छ र चिथ्रामा परिणत गरेको छ । करोनाले धनाढयहरूका पहाडहरूलाई समतल पार्दै छ । यसले मानसिक रूपमा हवामा उड्नेहरूलाई जीवन मरणको वास्तविकतासँग परिचय गराएको छ । यसले सामाजिक कु-व्यवस्था र पूँजीवाद अङ्गीकार गर्ने व्यक्तिहरूलाई स्वैच्छिक थुनामा राखेको छ । यसले हरेकलाई महामारीको शङ्कास्पद घटकमा परिणत गरेको छ । नेपालका अधिकांश क्षेत्रहरू र अन्य देशका अविकसित क्षेत्रहरू बाहेक, यसले कैयौँ देशका कैयौँ शहरहरूका नागरिकहरूलाई कम्तीमा 5 वर्षको कारावासको सजायको आदेश जारी गरेको छ ।… तर, त्यस्तो भए तापनि, सर्वोच्च स्तरका वैज्ञानिक डाक्टरहरू समेत हजारौँ धनाढ्यहरू र लाखौँ सर्वसाधारण जनताको अल्प आयुमा नै ज्यान घुमाउन परे तापनि, अत्याधिक धनाढ्यहरूलाई अझै होस आएको छैन । उनीहरू एक देशको अर्को देशसँग सैन्य युद्ध गरेर, एक समुदायको अर्को समुदाय विरुद्ध हिंसक बनाएर, एक अर्का र साधारण जनतालाई परास्त गर्ने तयारीमा छन् ।  SARS-CoV-2  लाई उनीहरूले यसै अवसरको रूपमा देखी रहेका छन् ।      

भारतमा महामारीले भयङ्कर र घातक रूप धारण गर्न सक्छ । त्यसका लक्षण कैयौँ छन् । त्यहाँ धार्मिक रूढीवाद घातक पराकाष्ठासम्म पुगेको छ । विज्ञान र वैज्ञानिक दृष्टीकोणलाई त्यहाँ नीतिगत रूपमा राष्ट्रीय स्तरमा नै लज्जित र अपमानित गर्नका साथसाथै सामप्रदायिक दुराचार तथा दुराग्रहहरूका व्याप्तिले जनजीवनलाई तहसनहस पारेको छ । यसका कारण डाक्टरहरू समेतमा एक समप्रदायको विश्वास समाप्त भएको छ । सम्प्रदायिक पूर्वाग्रहहरूका कारण प्रहरी, प्रशासन, अदालत, आदि पतन भएर धराशायी परेका छन् ।…

नेपालले त्यसबाट आफ्नो सुरक्षा गर्नु पर्छ ।

अब के गर्न सकिन्छ? नेपाल जस्तो अविकसित र अशक्त देशले के गर्नु सक्छ?

भौतिक द्वन्द्ववादले के वर्णन गरेको छ भने, रात दिनमा, दिन रातमा, अविकास विकासमा, विकास अविकासमा, शक्ति आशक्तिमा, अशक्ति शक्तिमा… परिवर्तन हुन्छ ।

नेपालको अशक्ति नै यस परिस्थितिमा यसको शक्ति सिद्ध हुनु सक्छ । नेपालको अविकास नै यसको नयाँ विकासको मार्ग प्रशस्त पार्न सक्छ ।… नेपालले संसारको मार्गदर्शकको दायित्व वहन गर्न सक्छ, यदि जनता सचेत भयो भने र धनाढ्य र प्रशासनले त्यसमा गतिरोध उत्पन्न गरेन भने । धनाढ्य र प्रशासनले गतिरोध उत्पन्न गरेमा, दुवैका साथ साथ देश नै समाप्त हुने सम्भावना पनि प्रबल छ ।

धनाढ्यहरूका विषयमा एक टिप्पणी आवश्यक छ । नेपालमा कैयौँ व्यक्तिहरूलाई आफू धनाढ्य हो लाग्न सक्छ, किनभने निम्न-मध्यम-वर्गमा यही सबभन्दा खतरनाक रोग हो, यथार्थतासँग सरोकारको सट्टा मन-मस्तिष्कमा मिथ्याहरू भोक्दै गर्ने, मानवता र विज्ञानमा विश्वासको ठाउँमा ढुङ्गाहरूका सामु दण्डवत् हुने ।… तर नेपालमा वास्तवमा कति जना धनाढ्य छन्?

तपाईंलाई आफू धनाढ्य हो भन्ने भ्रम छ भने, हामी तपाईंलाई त्यस भ्रमबाट मुक्त पार्ने प्रयास गर्छौँ । तपाईं कहाँ जन्मनु भयो? झुपडीमा अथवा प्रसूतिगृहमा, रगतको आवरणमा, नाङ्गै । तपाईं कहाँ हुर्कनु भयो? झुपडीमा । तपाईंको शिशुकालमा 2072 सालको जस्तो भुइँचालो रातको 12 बजे आएको भए, तपाईंको जीवनलीलाको के हुने थियो, यस कुराको तपाईंले आफै अनुमान गर्न सक्नु हुन्छ । तपाईं कति वर्ष भाडाको कोठामा बस्नु भयो? तपाईंका छोराछोरी कहाँ छन्? तपाईंका छोराछोरी कहाँ जाने तयारीमा छन्? तपाईंले आफ्ना छोराछोरीका साथ वर्षमा अथवा दस वर्षमा कति चोटि कति दिन एक साथ बस्ने अपेक्षा गर्नु भएको छ?… के यही सफल जीवन हो? के यही नै जीवन हो?… बिल गेट्ससँग भएको सम्पत्तिको तुलनामा तपाईंको सम्पत्तिको मूल्य के छ? सम्पत्ति नै मान्छेको जीवनको हैसियत, उद्देश्य, प्रप्ति, लीला आदि हो भने, बिल गेट्सका सामु तपाईंको हैसियत, उद्देश्य, प्राप्ति, लीला आदि के हो?… होसमा आउनुहोस् !  

जीवनको लागि सबभन्दा महत्त्वपूर्ण तत्व शुद्ध हावा हो । नेपालको 95% भूभागमा हावा शुद्ध र निर्मल छ । यसले सम्भवतः नेपाली जनतालाई शारीरिक रूपमा शक्तिशाली प्रतिरक्षा प्रणाली पनि प्रदान गरेको छ । शुद्ध र निर्मल पानीमा पनि देश धनी छ । खाद्यान्न सामाग्री अर्थात कृषि उत्पादनमा आत्म-निर्भरता प्राप्त गर्न तिर युद्ध स्तरमा काम गर्नु पर्छ, किनभने, SARS-CoV-2 र आगामी आउने SARS हरू र अन्य रोगहरूलाई विश्वयुद्धकै संज्ञा दिनु कुनै अतिशययोक्ति होइन । पहिलो विश्वयुद्धमा नेपालले 16 देखि 50 वर्षका पुरुषहरू मध्ये 40% भन्दा अधिक व्यक्तिहरूका ज्यान घुमाउनु पऱ्यो । त्यसै व्यापक सङ्ख्यामा दोस्रो विश्वयुद्धमा पनि नेपाली वीरहरूको आहुति भयो । पर्याप्त पर्याप्त हो । यस तेस्रो विश्वयुद्धमा कुनै पनि नेपाली बलि नचढोस्, यसको लागि सबै नेपाली सज्जनहरूले एकजुट भएर काम गर्नु उपयुक्त हुने छ । दुर्जनहरूले यस महामारीमा पनि लूटपाटका कार्य जारी राख्ने छन् अनि तिनमा वृद्धि गर्ने प्रयास गर्ने छन् । यसका साथ साथ उनीहरूले स्वयंलाई देशको अर्थतन्त्र, संस्कृति, लोकतन्त्र, कानूनको व्यवस्था, समाजको हितैशी आदि भनेर आफैलाई देशभक्तिको संज्ञा पनि दिने छन् । जबकि उनीहरूका जीवनदर्शन, शिक्षा, विचार, मान्यता, गतिविधि र स्वार्थले जानाजान अथवा अनजानमा दसौँ लाख देशवासीहरूलाई महामारी, भूकमरी, दरिद्रता, बेरोजगारी र असहायताका दलदलमा ढडुबाउने छन् । त्यस्ता “देशभक्तहरू”लाई नियन्त्रणमा राख्नु आवश्यक छ ।    

40 लाख बेरोजगारहरूलाई कसरी रोजगार दिने त?

संयुक्त राज्य अमेरिकाले कसरी आफ्ना मात्र होइन, करोडौँ विदेशीहरूलाई रोजगार दिई रहेको छ? चाहिँदा नचाहिँदा, वाञ्छनीय अवाञ्छनीय, निर्माणात्मक विध्वंसक, सृजनात्मक बित्यासात्मक, उत्पादक विनाशक… काममा खटाएर । जसबाट उसले विश्वव्यापार गरी रहेको छ ।

हामीले नेपालको सन्दर्भमा के गर्न सक्छौँ? 40 लाख बेरोजगारहरूलाई कसरी रोजगार दिने त? त्यत्ति पैसा कहाँबाट आउने छ?

पैसा दिनु पर्दैन । सम्पत्ति निर्माणको काम गर्नु पर्छ । सम्पत्ति नै अर्थ हो । त्यसै निर्माण गरिने सम्पत्तिमा साझेदार र शेयरहोल्डर सबै श्रमिकहरूलाई बनाउनु पर्छ र त्यसैको वितरण गर्नु पर्छ । बुझ्नु भएन? हामी बुझाउने छौँ ।

हामीसँग जमीन पनि छ, इँटा, सीमेन्ट, फलाम आदि पनि । श्रम गर्ने व्यक्तिहरू र अभियन्ता पनि । स्कूल, कालेज, विश्वविद्यालय, हस्पताल, घर, सडक, नगरिका, पानी-आपूर्ति आदिका लागि सबै सामाग्रीहरू हामीसँगै छन् । विदेशबाट भीक मागेर आफनै खेतमा आफै उत्पादन गरेको अन्न किनेर खाने कुन चैँ बुद्धिमता हो? आफ्नै नानीलाई आफै हात समातेर हिँडाइ सिकाउनलाई विदेशी सहायता खोज्नु कुन प्रज्ञा हो?…

श्रमिकहरू र अभयन्ताहरूलाई के चाहियो? हावा, पानी, अन्न, लुगा, वास व्यवस्था, यातायात, काम गर्ने अवसर, काम गरेको बापत उचित पारिश्रमिक र सराहना, मेडिकल उपचार, नानीहरूलाई शिक्षा आदि । के यो व्यवस्था गर्नु वा यसको निर्माण गर्नु असम्भव छ र?

युद्ध स्तरमा काम गर्नु पऱ्यो । यो युद्ध नेपाली जनताको आफ्नै हितहरूका लागि आफ्नै युद्ध हो । सबभन्दा पहिला नेपाल सरकारमा कार्यरत विशेषज्ञहरूलाई काममा खटाउनु पऱ्यो । विशेषज्ञहरू पर्याप्त छैनन् भने, थप विशेषज्ञहरूको नियुक्ति गर्नु पऱ्यो । पूरा देशको सर्वेक्षण गरेर, प्राकृतिक संसाधनहरूलाई मध्ये नजर राखेर एक रूपरेखा तयार गरेर एक गुरु योजना बनाउनु पऱ्यो । जसमा निम्नलिखित सामेल हुनु पर्छ ।

वर्तमान उत्पादन, आवश्यकता र आपूर्ति

  1. हाल देशमा स्थायी र अस्थायी रूपमा काम गरी रहेका व्यक्तिहरूको सङ्ख्या

  2. विदेशहरूमा स्थायी र अस्थायी रूपमा काम गरी रहेका व्यक्तिहरूको सङ्ख्या

  3. हाल देशमा उत्पादन भई रहेको खाद्यान्नको परिमाण

  4. विदेशी रोजगारबाट फर्कन सक्ने 30 लाख वा अधिक व्यक्तिहरू सहित देशमा खाद्यान्नको आवश्यकताको परिमाण

  5. उत्पादन र आवश्यकता बीच कमी वा अधिक्यको परिमाण

  6. हालको व्यवस्था

  7. हाल इन्धनको आवश्यकताको परिमाण

  8. हालको आफूर्ति व्यवस्था

  9. हाल औषधि उपचारको लागि आयातको परिमाण

  10. अन्य आवश्यक वस्तुहरू बारे तथ्याङ्क

  • बेरोजगारहरूको सङ्ख्या र अवस्था

  1. हाल काम गर्न सकिने व्यक्तिहरूको सङ्ख्या

  2. शिक्षा र तालिमको आधारमा उहाँहरूको वर्गीकरण

  3. हाल सरकारी र निजी क्षेत्रमा उत्पादनमूलक वा सेवामूलक वा अनुसंधानात्मक कार्यहरूमा नियुक्त व्यक्तिहरूको सङ्ख्या

  4. साना तिना कारोबार, होटल आदि बन्द भए पछि, र पर्यटन समाप्त भए पछि, अनि लगभग 30 लाख श्रमिकहरू विदेशबाट फर्के पछि बोरोजगारहरूको सङ्ख्या

  5. कुनै सहारा वा कुनै आमदानी नभएका व्यक्तिहरूको सङ्ख्या र हालको व्यवस्था

  6. घर नभएका वा झुपडीहरूमा वसोबास गरी रहेका व्यक्ति र परिवारहरूको सङ्ख्या

  • उत्पादन र निर्माणको परिमाण र क्षमता

  1. देशको जम्मा सीमेन्ट उत्पादन र क्षमता

  2. देशको जम्मा फलाम उत्पादन र क्षमता

  3. देशको इँटा उत्पादन र क्षमता

  4. देशको भवन, सडक, आदिको लागि अन्य निर्माण सामाग्रीको तथ्याङ्क र क्षमता

 

  • काम, वेतन र वर्तमान र भविष्यका सुविधा

  1. न्यूनतम प्रस्तावित तलब र सुविधा

  2. अधिकतम प्रस्तावित तलब र सुविधा

  3. भविष्यको निर्माणमा साझेदारी र त्यस सम्पत्तिमा हिसेदारी

नोट :– प्रस्तावित न्यूनतम तलबहरूमा मानवीय तरिकामा परिवारका जीवनका मूलभूत आवश्यकताहरू पूरा गर्न सक्ने र बसोबासको लागि निर्माण गरिएका घरहरू मध्ये एकेक घर किन्नलाई सञ्चय कोष जस्तै तलबको एक अंश अनिवार्य रूपमा हुनु पर्छ ।      

  • काम गर्न नसकिने असहाय व्यक्तिहरू बारे

  1. कुनै सहारा वा कुनै आमदानी नभएका व्यक्तिहरूको सङ्ख्या

  2. उनीहरूको बसोबासको व्यवस्था

  3. उनीहरूका लागि आवश्यक वस्तुहरूको आपूर्ति

  4. उनीहरूका लागि औषधि उपचार व्यवस्था

भूमि र प्राकृतिक संसाधनहरूका अधिकांश सम्पत्तिको स्वामित्व राज्य र प्रदेशहरूका हातमा छ भने, कृषियोग्य जमीन र अन्य क्षेत्रहरू निजी मालिकहरूका स्वामित्वमा रहेछ ।

कृषियोग्य जमीनलाई पहिचान गरेर, त्यसको किनबेच निजी क्रेयतालाई निषेध गर्नु पऱ्यो । हजारौँ सालको मानवताको मेहनतद्वारा प्राप्त भएको जमीनलाई कन्क्रीटमुनि गाडिनु अनिकाल निम्त्याउनु हो । कसैलाई आफ्नो जमीन बेच्नै पर्छ भने, त्यस व्यक्तिका आवश्यकताहरू पूरा गरेर त्यस जमीनलाई राज्यले उचित मूल्यमा आफ्नै स्वामित्वमा लिनु पऱ्यो । यस पूरा जमीनलाई सुव्यवस्थित व्यापक कृषि क्षेत्रमा परिवर्तन गर्नु प्रमुख आवश्यकता छ ।   

77 जिल्लाहरूमा जमीनलाई दुई भागहरूमा श्रेणीबद्ध गर्नु पऱ्यो । श्रेणी एकमा निकुञ्ज क्षेत्र, र श्रेणी दुईमा बसोबास, कृषि, फलफूल, उद्यान, खेलकूदका मैदान, उद्योग, एयरपोर्ट, बसअड्डा, टेक्सी अड्डा, सडकहरू, स्कूल, कालेज, विश्विद्यालय, हस्पताल, प्रशासनिक भवन आदिको आवन्टन गर्नु पऱ्यो ।

हरेक जिल्लामा सरदर 100 वर्ग किलोमीटर भूमिलाई फलफूल, पशुपालन, मौरीपालन र कृषिसम्बन्धी अरू कार्यहरूका लागि छनोट गरी, यी उत्पादनहरूका लागि आवन्टन गरेर, त्यसको कार्यान्वयन गर्नु पऱ्यो ।

निजी मालिकहरूका जमीनलाई जहाँजहाँ अधिग्रहण गर्नु आवश्यक छ, त्यसलाई उचित मूल्य तोकेर, राष्ट्रीय समपत्तिमा ती मालिकहरूलाई साझेदार र शेयरहोल्डर बनाएर वार्षिक लाभांश दिने व्यवस्था निर्माण गर्नु पऱ्यो ।

जङ्गलहरूमा उपयुक्त र लाभकारी वृक्षारोपन गर्ने व्यवस्था गर्नु पऱ्यो ।

पूर्व देखि पश्चिम र उत्तरदेखि दक्षिणसम्म हरेक पाँच वा दस किलोमीटरको दूरीमा राजमार्गहरू निर्माण गर्नु पऱ्यो ।

जलविद्युत कहाँ कहाँ बनाउन सकिन्छ, त्यसको चयन गरेर, गुरु योजनामा समावेश गर्नु पर्छ ।

भूगोलिक परिस्थितिका अनुसार सुव्यवस्थित नगरिकाहरूको निर्माण कार्यलाई सञ्चालन गर्नु पर्छ र ती नगरिकाहरूमा त्यहाँका बासिन्दा र जग्गाधनी लगायत छिमेकी क्षेत्र र निर्मान कार्यमा संलग्न श्रमिक, अभियन्ता आदिलाई निर्माण गरिएका घर प्रदान गर्नु पर्छ ।

गर्नु पर्ने कार्यहरू धेरै छन् । सबभन्दा उत्तम कुरा के हो भने, यी सबै निर्माण कार्य हुन । यसमा विनाशकारी कुनै काम छैन । अनि यसलाई कुनै पनि विदेशी पूँजीवादी शक्तिले पूँजीवादी सिद्धान्तानुसार विरोध गर्न सक्दैन ।   

नेपाल सरकारलाई हामी के सुझाव दिन चाहन्छौँ भने, ग्रह मन्त्रालयमा सात सात जिल्लाका परिस्थितिहरूको सामाजिक र भूगोलिक ज्ञान राख्ने एकेक सलाहकार नियुक्त गर्नुहोस् । 77 जिल्लाहरूका लागि त्यसरी 11 जना सल्लाहकारहरू हुने छन् । उनीहरूलाई जिल्ला प्रशासक, प्रहरी अध्यक्ष, स्वास्थ्य अध्यक्ष र अन्य सरोकारवाला सँग छलफल गरेर, साप्ताहिक रूपमा परिस्थितिको जानकारी लिएर, समस्याहरूको मूल्याङ्कन गरी, रणनीति तयार गर्ने र त्यसको साप्ताहिक रूपमा समीक्षा गरी, परिमार्जन गर्ने दायित्व सुम्पनुहोस् ।         

सारांशमा, त्यस्तो एउटा गुरु योजना बनाउनु पऱ्यो र त्यसको कार्यान्वयन गर्नु पऱ्यो जसको उद्देश्य दस वर्षभित्र सबै देशवासीहरूलाई घर, राम्ररी व्यवस्थित नगर र नगरिकाहरूमा वास, यातायातका सुगम मार्गका साथ साथ वर्तमान विनाशक परिस्थितिबाट मङ्लमय तरिकामा उम्कने, सबल रूपमा अगाडि बढ्ने र भविष्यको निर्माण गर्ने सबै आवश्यक कुरा समावेश होस् ।

पुनः एक पटक दोहोऱ्याउँछु, श्रमिक, अभियन्ता, जग्गा धनी र सबै नागरिकहरू र उनीहरूका परिवारहरूलाई अन्न, वासस्थान, यायायात, देशमा उपलब्ध मेडिकल सेवा र औषधि उपचार, आदि प्रदान गर्नु होस्, उनीहरूका नानीहरूलाई शिक्षा प्रदान गर्नुहोस् अनि उनीहरूले आफ्ना र तपाईं सबैका लागि शोभनीय घर, स्कूल, कालेज, खेलका मैदान, सडक आदि निर्माण गर्ने छन् । उनीहरूले खाद्यान्न, फल, फूल, दूध, मह र अन्य सामग्री तपाईं सबैका लागि उत्पादन गर्ने छन् ।

अन्यथा विशेष गरी श्रमिकहरू र सामान्यतजन भोकमरी र रोगहरूका शिकार हुने छन् अथवा भयङ्कर दुर्दशारत परिस्थितिमा पर्ने छन्, जसका परिणामहरू तपाईं सबैले असुरक्षा, अस्तव्यस्तता, अपराध, बलात्कार, हत्या हिंसा आदिका रूपमा भोग्न पर्ने हुने छन् । यो कुरा भन्नु आवश्यक छैन, श्रमिकहरू र सामान्यतजनको भोकमरी, रोगहरूका शिकार हुनु अथवा भयङ्कर दुर्दशामा पर्नु अन्य सबै व्यक्तिहरूको पनि मानसिक भोकमरी र रोग अथवा दुर्दशा हो ।

धन्यवाद !

 

एवरयङ्ग ग्लोबल फाउन्डेशन (www.eygif.org) का लागि देहायमा हस्ताक्षर गरेका संस्थापक र सदस्यहरूद्वारा अनुमोदित :–
रमेश भट्ट ज़ेहन्निशीन, कार्यकारी निर्देशक
नुच्छेनारायण श्रेष्ठ, संस्थापक
महेश्वर फुँयाल, संस्थापक
रवि सिग्देल, संस्थापक
निर्मला दंगाल, संस्थापक
सरिता दंगाल, संस्थापक
राजेन्द्र कुमार पण्डित, सदस्य
पशुपति न्युपाने, सदस्य
शिवहरू श्रेष्ठ, सदस्य
श्याम काजी श्रेष्ठ, सदस्य
र आगामी समयमा अनुमोदन गर्ने वा यस कार्यक्रमलाई अङ्गालने अन्य सबै सदस्यहरू र सर्वसाधारण जनता ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *